७ बैशाख २०८१, शुक्रबार

के तपाईलाई थाहा छ मानसिक स्वास्थ्य भनेको के हो ? यस्तो छ विस्तृत जानकारी



यमुना अर्याल

सामान्य भाषामा मानसिक स्वास्थ्य भन्नाले मनमा रहेका सोच र व्यवहारको स्वास्थ्य भनेर बुझ्न सकिन्छ । विश्व स्वास्थ्य संगठनका अनुसार, मानसिक स्वास्थ्य भन्नाले सु-स्वास्थ्यको त्यस्तो अवस्था जसमा प्रत्येक व्यक्तिले आफ्नो क्षमतालाई पहिचान गर्न, जीवनको सामान्य तनावहरुको सामना गर्न, उत्पादनशील तरिकाले काम गर्न र आफ्नो समुदायमा योगदान दिन सक्षम हुन्छन् भनेर परिभाषित गरेको छ । मानसिक रुपमा स्वस्थ्य व्यक्तिले आफ्नो क्षमताको पहिचान गरी, जीवनयापन गर्नका लागि विभिन्न परिस्थिति सामना गर्दै उत्पादनशील तथा प्रगतिशील जीवनयापन गर्न सक्छ ।

मानसिक स्वास्थ्यलाई स्वास्थ्यको महत्वपूर्ण अंगको रुपमा लिइएतापनि यसको प्रवद्र्धनका लागि व्यक्तिगत तथा सामुदायिक स्तरमा धेरै काम भएको पाइँदैन । मानसिक स्वास्थ्य समस्याको उपचार सम्भव भए पनि यसप्रति रहेको अज्ञानता, लाञ्छना, विभेद र कलंकका कारणले गर्दा समस्यालाई लुकाउने वा गलत उपचार खोज्ने प्रवृत्ति समाजमा यथावत रहेको छ । विश्व स्वास्थ्य संगठनले विश्वभर वर्षको २५प्रतिशत अथवा चार जना मध्ये एक व्यक्तिको जिवनकालमा कुनै न कुनै समयमा मानसिक स्वास्थ्य सम्बन्धी समस्या रहन्छ भनेर परिभाषित गरेको छ । त्यस्तै हाम्रो समाजमा मानसि स्वास्थ्य समस्या भएका व्यक्तिले काम गर्न सक्दैनन् भन्ने धारण रहेको छ । तर, त्यो बुझाई गलत हो यथार्थमा मानसिक समस्या भएका व्यक्तिहरुले अवसर र सहयोग पाएमा अन्य व्यक्ति सरह काम गर्न सक्छन् र गरिरहेकापनि छन् । कडा खालका मानसिक समस्यामा मनोचिकित्सय तथा मनोवैज्ञानिक उपचारपछि व्यक्तिले सामान्य र स्वतन्त्र जीवन जिउन सक्छन् ।

धेरै जसो मानसिक समस्याभएका व्यक्तिलाई समयमै सहयोग गर्न सकिए प्रभावकारी व्यवस्थापन गर्न सकिन्छ । यस्तो सहयोग परिवार, साथिभाइ र छरछिमेकले पनि उपलब्ध गराउन सक्छन् । आवश्यकता अनुसार मनोविमर्शकर्ता, मनोविद् र मनोचिकित्सकको समेत सहयोग लिन सकिन्छ वा लिन आवश्यक हुन्छ । टाउकोमा लाग्ने चोट, कुपोषण, लागुऔषध दुर्व्यसन, जीवनका नराम्रा भोगाइ, दुर्घटना, यातना, आघात, हिंसा आदि कारणले मनका भावना, सोच र व्यावहारमा असर लगातार रुपमा दुई हप्ताभन्दा बढी समय सम्म देखा परिरहेमा मानसिक स्वास्थ्य समस्या रहेको भन्न सकिन्छ ।

बालबालिका र किशोर किशोरीमा मानसिक स्वास्थ्य समस्या हुँदैन भन्ने हाम्रो बुझाइ रहेको छ तर, विश्व स्वास्थ्य संगठनको तथ्यांक हेर्दा ५० प्रतिशत भन्दा बढी मानसिक स्वास्थ्य समस्या १४ वर्षको उमेर अगावै सुरु हुने गरेको पाइएको छ । प्रत्येक ५ मध्ये १जना बालबालिका तथा किशोरकिशोरीमा कुनै न कुनै किसिमको मानसिक स्वास्थ्य समस्या रहने गरेको देखिएको छ ।



प्रतिक्रिया दिनुहोस !