२१ बैशाख २०८१, शुक्रबार

कोभिड–१९ को कारण चेलीबेटी उद्धारमा समस्या



काठमाडौं । माइती नेपालका अध्यक्ष अनुराधा कोइरालाले कोभिड–१९ को सङ्क्रमणका समयमा चेलिबेटी उद्धारमा समस्या परेको बताएकी छिन् ।

इनर ह्वील क्लब अफ वाग्मतीले आयोजना गरेको ‘कोभिड–१९ सङ्क्रमण समस्या, महिला हिंसा र उद्धार’ विषयक भर्चुअल कार्यक्रममा उनले नेपाली शिक्षित नभएसम्म चेलिबेटी बेचविखन तथा महिला हिंसा नरोकिने बताइन ।

“सरकारले बलात्कारीका लागि कडा कानून ल्याएको छ, यसलाई कार्यान्वयनतर्फ लैजानुपर्छ”, उनले भनिन ।

अध्यक्ष कोइरालाले माइती नेपालका पहलमा कोभिड–१९ का समयमा समस्यामा परेका महिलालाई सहयोग गरिएको बताउँदै माइती नेपालले हालसम्म २० हजारभन्दा बढी चेलीबेटी तथा बालबालिकालाई उद्धार गरिसकेको जानकारी दिइन ।

इनर ह्वील क्लब अफ वाग्मतीका अध्यक्ष लक्ष्मी खतिवडाका अनुसार नेतृत्व र परिवर्तन भन्ने मूल नारा बोकेको इनर ह्वीलका ३४ तथा देशभरका २८ क्लबमा ७०० भन्दा बढी सदस्य छन् ।

इनर ह्वील क्लबले हाल देशभरका एक दर्जन बालिकालाई नर्सरीदेखि स्नातक तहसम्म निशुल्क पढाउनाका साथै वृक्षरोपण, रक्तदान, अशक्त बालबालिकालाई सहयोग, वृद्धवृद्धासँग साक्षात्कारलगायत कार्य गर्दै आएको क्लबका रीता घिमिरेले जानकारी दिइन ।



प्रतिक्रिया दिनुहोस !