७ बैशाख २०८१, शुक्रबार

व्यवसाय सञ्चालन माग गर्दै ठमेलका व्यवसायी



काठमाडौं । पर्यटन व्यसायलाई सञ्चालनमा ल्याएर पर्यटन उद्योगलाई विस्तारै पुनःस्थापना गर्नुपर्ने व्यवसायीले माग गरेका छन् । कोरोनाो सङ्क्रमण सुरू भएपछि लकडाउनका कारण ठमेल क्षेत्र अहिलेसम्म बन्द जस्तै छ । दिवाकालीन व्यवसाय सञ्चालनमा आए पनि व्यापारिक लाभ लिन नसकेको ठमेल पर्यटन परिषद्को गुनासो छ ।

पर्यटन व्यवसायमा चुलिँदै गएको आर्थिक सङ्कट व्यवस्थापन गर्न ठमेल खुला गर्नुपर्ने र रात्रिकालीन व्यवसायलाई रातभर सञ्चालन हुने वातावरण बनाउनुपर्ने व्यवसायीको माग रहेको छ । बिहीबार ठमेल पर्यटन विकास परिषद्ले आयोजना गरेको कार्यक्रममा सहभागीहरुले यस्तो धारणा राखेका हुन् ।

कार्यक्रममा महानगरीय प्रहरी परिसरका प्रमुख अशोक सिंहले सरकारले सञ्चालनको अनुमति दिएन भनिरहँदा व्यवसायलाई थप व्यवस्थापन गर्नेतर्फ पनि ध्यान दिन आग्रह गरेका छन् ।

ठमेल बन्द भएपछि नेपालको पर्यटन उद्योगमा ठूलो धक्का लागेको छ भन्दै परिषद्का अध्यक्ष प्रकाशनरसिंह राणाले यसलाई क्रमशः खोल्दै लानुपर्ने बताए । त्यस क्रममा व्यवसायीले रात्रिकालीन व्यवसाय गर्दा कोटेश्वर, सुन्धारा, दरबारमार्ग र ठमेललाई एउटै मापदण्डमा सञ्चालन गर्ने प्रबन्ध गर्नुपर्नेमा जोड दिएका थिए । कुनै ठाउँमा ९ बजे, कतै १० बजे र कतै ११ बजे व्यवसाय बन्द गर्ने व्यवहार असमान भएको उनीहरूको गुनासो थियो ।

छलफलमा सहभागी घरधनीले ठमेलमा रातको समयमा हुने जमघट, चर्को आवाज र सडकमा देखिने अश्लील गतिविधिले परिवारसँग बस्ने र आनन्दसँग सुत्ने वातावरण नभएको गुनासो गरेका थिए । यस क्षेत्रमा करिब १० हजार व्यवसायी र दुई हजार घरधनी छन् । सिजनमा ठमेलले दैनिक रु ३० देखि ३५ करोड र अफसिजनमा रु १८ देखि २० करोड कारोवार गर्ने गरेको थियो ।



प्रतिक्रिया दिनुहोस !