१२ बैशाख २०८१, बुधबार

चिनी उद्योगले किसानको उखुको रकम भुक्तानी गर्न सुरु



काठमाडौं । रौतहटमा रहेको श्रीराम चिनी उद्योगले किसानको उखुको रकम भुक्तानी गर्न सुरु गरेको छ । शुक्रबार ५ हजार ३ सय किसानको खातामा रकम पठाएको जानकारी दिइएको छ । तीन वर्ष अघिदेखि उखुको भुक्तानी नपाएको भन्दै गत आइतबारदेखि माइतघर मण्डलामा किसान आन्दोलनमा उत्रेपछि सो चिनी मिलले भने रकम दिन सुरु गरेका हो । सो चिनी मिलका सन्चालक विशाल अग्रवालसहित तीन जनाविरुद्ध ठगी मुद्दामा पक्राउ आदेश जारी भएपछि उद्योगले भुक्तानी दिन सुरु गरेको जानकारी दिएको छ ।

शुक्रबार श्रीराम चिनी उद्योगले १६ करोड ४४ लाख ५५ सय रकम किसानको खातामा हालिदिएको जानकारी दिएको छ । चिनी उद्योगले क्रमशः सबै किसानको खातामा बक्यौता रकम हालिदिने बताएको छ । सो उद्योगको किसानलाई दिन ३५ करोड रुपैयाँ बाँकी रहेको छ । उद्योग अत्यधिक नोक्सानीमा गई समयमा रकम भुक्तानी गर्न नसकेको भन्दै उद्योगले क्षमायाचना गरेको छ । यस उद्योगले भुक्तानी गर्न बांकी रहेको बक्यौता रकम भुक्तानीका लागि उद्योगको बैंक खातामा रकम जम्मा भइसकेको र भुक्तानीका लागि कारखानास्थलमा सूचना टाँस गरेको जनाएको छ ।

यस्तै, सर्लाहीस्थित अन्नपूर्ण चिनी उद्योगका सञ्चालक राकेश अग्रवालविरुद्ध पनि प्रहरीले पक्राउ पूर्जी जारी गरिसकेको छ ।
उखु किसानको १७ करोड राकेश अग्रवालले तिर्न बाँकी छ । किसानले गत बुधबार जिल्ला प्रशासन कार्यालय, सर्लाहीमा जाहेरी दिएपछि अग्रवालविरुद्ध पक्राउ पूर्जी आदेश जारी गरिएको छ । उखु किसान संघर्ष समिति सर्लाहीका अध्यक्ष रामस्वार्थ रायले उद्योगीले किसानको सवै बक्यौता रकम भुक्तानी नगेसम्म आफूहरूको शान्तिपूर्ण आन्दोलन जारी रहने बताए । चार वटा चिनी मिलबाट ९० करोड रुपैयाँ भुक्तानी पाउन बाँकी रहेको उनको भनाइ छ ।

उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार नवलपरासीको लुम्बिनी चिनी उद्योग प्रालिले ८ करोड ४१ लाख ४१ हजार ५८६ रुपैयाँ भुक्तान गर्न बाँकी रहेको छ । नवलपरासीमा रहेको इन्दिरा सुगर एण्ड एग्रो इन्डष्ट्रिजले ४ करोड ७० लाख रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको छ । यसले ७४ लाख भुक्तान गरिसकेको छ । यस्तै सर्लाहीमा रहेको अन्नपूर्ण सुगर एण्ड जेनेरल इन्डष्ट्रिज प्रालिले ३३ करोड १० लाख रुपैयाँ भुक्तान गर्न बाँकी रहेको छ ।



प्रतिक्रिया दिनुहोस !