१२ बैशाख २०८१, बुधबार

प्रचण्ड–नेपाल पक्षको प्रष्ट सन्देश: अर्को ओली चाहिँदैन !

बादल र प्रभु शाहले धेरै खरानी घसे: प्रचण्ड



माघ, १० काठमाडौं । संसद विघटनको विरोधमा नेकपा प्रचण्ड–माधव नेपाल समूहले शुक्रबार काठमाडौंमा शक्ति प्रदर्शन गरेको छ । काठमाडौं उपत्यकाका वरिपरिका जिल्लाबाटसमेत कार्यकर्ता उतारेर प्रचण्ड–माधव समूहले केही प्रष्ट सन्देश दिन खोजेको छ – अर्को ओली चाहिँदैन ।

भृकुटीमण्डपमा भएको सभामा सम्बोधनका क्रममा अध्यक्ष माधव कुमार नेपालले ओलीले आफूलाई ५० वर्षअघि देखि दुख दिएको भन्दै असन्तुष्टि व्यक्त गरे । ‘५० वर्षसम्म जहिले पनि दुःख दिए,’ नेता नेपालले भने, ‘हैरान मात्रै पारे । मैले मनाउन खोज्ने तर उनले मलाई सधैँ दुःख दिए । उनी सधैँ अरुको हुर्मत लिन खोज्छन् । अब तिनै ओली पार्टीमा चाहिँदैन । हिटलरी नाजिवादको नेपाली संस्करण केपी ओली हुन् ।’

सभालाई अध्यक्षद्वय ‘प्रचण्ड’, अर्का नेपाल, वरिष्ठ नेता झलनाथ खनाल र स्थायी कमिटी सदस्य घनश्याम भुसालले सम्बोधन गरेका थिए ।

गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरिदिएकी थिइन् । संसद विघटन संविधानसम्मत नभएको भन्दै सर्वोच्चमा परेका १३ रिटहरूको सुनुवाई संवैधानिक इजलासमा चलिरहेको छ ।

विघटित संसदलाई पुर्नस्थापना गर्नुपर्ने मागसहित प्रचण्ड नेपाल पक्षले निरन्तर आन्दोलन गर्दै आइरहेको छ ।

शुक्रवारको जनसभा दोस्रो चरणको आन्दोलनको उत्कर्ष थियो । जनसभामा एक लाख मान्छे उतार्ने दाबी नेताहरूले गरेको भएपनि ५० हजारको हाराहारीमा नेता तथा कार्यकर्ताको उपस्थिति देखिन्थ्यो ।

जनमत कता छ ?

प्रचण्ड–माधव नेपाल समूहले जनमत कता छ ? भनेर पनि देखाउन खोजेका छन् । प्रचण्डले अदालत र निर्वाचन आयोगले जनताको सेन्टिमेन्ट हेरेर फैसला गर्नुपर्ने बताए ।

‘ओलीका मान्छेहरूले हामीले सेटिङ मिलाइसकेका छौं भनेका छन्,’ उनले सम्बोधनका क्रममा भने, ‘षड्यन्त्रकारी सेटिंग भत्काएर जनताको सेटिंग खडा हुँदैछ । निर्वाचन आयोग र अदालतले जनमत पनि हेरेर फैसला गरेको इतिहास छ । कुनै पनि ऐतिहासिक फैसलामा जनताको मनोविज्ञान के छ भन्ने पनि एउटा फ्याक्टर हुने गरेको छ ।’

आजको सम्बोधनका क्रममा मात्र होइन, प्रचण्डले यसअघि पनि पटक–पटक यस्तै कुरा दोहोर्याउने गरेका छन् । केही दिनअघि उनले सम्बोधनका क्रममा भनेका थिए, ‘हामीले आन्दोलनमार्फत अदालत र निर्वाचन आयोगलाई सहयोग गर्न खोजेका छौं ।’

विवाद शुरू हुनुभन्दा अघिका केन्द्रीय कमिटी सदस्यहरू मध्ये बहुमत प्रचण्ड–नेपाल पक्षमै छन् । आयोगको नियमावलीले यसअघिका विवाद सल्ट्याउँदा बहुमत अल्पमतलाई नै आधार बनाएको थियो । तर पनि प्रचण्ड–नेपाल पक्ष सूर्य चिह्न आफूले पाउनेमा विश्वस्त देखिँदैन ।

सर्वोच्च अदालतले पनि संसद विघटन उल्ट्याउला भन्नेमा प्रचण्ड–नेपाल पक्ष विश्वस्त देखिएको छैन । अध्यक्ष प्रचण्ड र अन्य नेताहरूका बारम्बारका अभिव्यक्तिहरूले यसको पटाक्षेप गरेका छन् ।

नेकपा प्रचण्ड–माधव समूहका वरिष्ठ नेता झलनाथ खनालले नेकपामा को आधिकारिक हो सडकमा आएर हेर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरे ।

आफ्नो समूहले काठमाडौंमा शक्ति प्रदर्शनलाई सम्बोधन गर्दै खनालले भने, ‘कुन पार्टी आधिकारिक हो ? सडकमा आएर हेर्न केपी ओलीलाई निम्ता गर्न चाहन्छु ।’

नेता खनालले केपी शर्मा ओलीले घुँडा टेक्नुको विकल्प नभएको पनि बताए ।

अहिले आफूहरुसहित नेपाली कांग्रेस र जनता समाजवादी पार्टी आन्दोलनमा रहेको र छुट्टाछुट्टै आन्दोलन भए पनि सबैको प्रहार एकै ठाउँमा रहेको उनले बताए ।

‘आमाको दूध चुसेर भएन, बाबुको घुँडो !

बबरमहलस्थित कार्की बैंकटमा सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले सोधेका थिए, ‘खोइ कालीबहादुर खाम ?’ त्यसको जवाफ आज प्रचण्डले दिए । ‘कालीबहादुर खाम खोई अरे! उसको मुद्वा ठीक ढंगले हल होस् भन्नका लागि १०-११ वर्षदेखि म लगातार लागेको छु । उसलाई परेको गाह्रो–साह्रो हेर्न मैले लगातार बल गरेको छु । अहिले त कालीबहादुर, तपाईंलाई प्रचण्डले हेर्दैन ! जनमुक्ति सेनाका कमाण्डर हुन् उनी ।’

प्रचण्डले आफूले १० वर्षसम्म स्कूलिङ गरेर हुर्काएर जनयुद्धका लडाकूहरूलाई अहिलेको ठाउँमा पुर्याएको बताए । ‘ती मान्छेको चाहिँ अब केपीले संरक्षण गर्ने रे,’ प्रचण्डले आक्रोशित हुँदै भने, ’आमाको दूध चुसेर भएन, बाबुको घुँडो ! योभन्दा लाजमर्दो अरु हुन्छ रु प्रचण्डले जनमुक्ति सेना नहेर्ने रे, केपीले हेर्ने रे ।’

बादल, प्रभु शाहले धेरै खरानी घसे !

प्रचण्डले ओली समूहतिर लागेका पूर्वमाओवादीहरुमाथि कटाक्ष गरे ।

उनले भने, ‘तपाईंहरुले थाहा पाउनुभएको छ, हिजो पूर्वमाओवादीका केही–केही फुट्ने, आउने–जाने गरेका केही चाहिँ अहिले खरानी घसेर चिन्नै नसकिने भएका छन् । केपीका ओरिजिनल साइबर स्यालभन्दा यी भगौडाहरुले यति धेरै खरानी घसेको देखेर मलाई लाजै लाग्या छ ।’

त्यसैगरी, ओलीका पछाडि राजावादीहरु पनि लागेको बताउँदै प्रचण्डले भने, ‘उनको पछि लाग्ने देख्नुभएको छ नि अनुहार तपाईहरुले । उनको पछि लाग्नेहरु हिजो ज्ञानेन्द्रका जोजो मान्छे थिए, तिनीहरु दौडिएका छन् अहिले ।’

अरिङ्गाल र साइबर सेनाको चर्चा

विरोधसभामा अरिङ्गाल र साइबर सेनाको पनि चर्चा भयो ।

अध्यक्ष माधवकुमार नेपालले सिंगो देश ओलीका विरुद्ध रहेको भन्दै ओलीसँग अरिरङ्गाल र साइबर सेना मात्रै रहेको दावी गरे ।

‘ओलीको विरुद्धमा सिंगो देश उभिएको छ । ओलीको पक्षमा साइवर सेना र अरिंगालमात्रै छन् । हाम्रो विशाल पार्टीसँग ओलीका अरिंगाल र साइबर सेनाले लड्ने क्षमता राख्दैनन्’ अध्यक्ष नेपालको भनाइ छ ।

उनले ओलीसँग मिल्छन् कि भन्ने आंशकाको पनि खण्डन गरे ।

‘अहिले कतिपय पार्टीले शंका गरेका छन् । यो कुनै नाटक गरेका त छैनन् ? कतै मिल्ने त हैनन् ? कतै हामीलाई धोका त दिने हैनन् ? हामी मूल्यको राजनीति गर्छौँ । हामी विचारको राजनीति गर्छौँ,’ नेपालको भनाइ छ ।

सभामा सम्बोधनको सुरुवात गर्दै नेता घनश्याम भुषालले प्रधानमन्त्री केपी शर्मा ओलीको सेटिङले देश नचल्ने बताए ।

अहिले ओलीसँग साइवर सेना र सेटिङ मात्रै रहेको भन्दै बाँकी शक्ति आन्दोलनको पक्षमा रहेको बताए ।



प्रतिक्रिया दिनुहोस !