५ जेष्ठ २०८१, शनिबार

एमबीबीएसको शुल्क आठ लाख बढाउन प्रस्ताव



१० माघ, काठमाडौं । चिकित्सा शिक्षा आयोगले शैक्षिक सत्र २०७७/७८ मा एमबीबीएसको शुल्क आठ लाख रुपैयाँ बढाउन प्रस्ताव गरेको छ । आयोगको शुल्क निर्धारण कार्यदलले विभिन्‍न कारण देखाउदै ४० लाख २३ हजार २ सय ५० रुपैयाँबाट वृद्धि गरी ४८ लाख रुपैयाँ बनाउनुपर्ने सिफारिस गरेको हो ।

आयोगको सिफारिस समितिले १७ विषयमध्ये अधिकांशमा शुल्क बढाउने सिफारिस गरेको छ । जसमा बीडीएस, एमडीएमएस, एमडीएस साइन्स, एमडी आयुर्वेद, एमएन एमएस्सी नर्सिङ, एम फर्मा, एमएस्सी मेडिकल माइक्रोबायोलोजी, एमएस्सी बेसिक साइन्स, एमफिल क्लिनिकल साइकोलोजीमा परेका छन् । बीडीएसमा करिब एक लाख रुपैयाँले शुल्क बढाउन सिफारिस गरिएको छ ।

यस विषयमा तत्कालै कुनै निर्णय नभएकाले आयोगका सहअध्यक्ष एवं शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा सात सदस्यीय कार्यदल बनेको छ । कार्यदलमा सहअध्यक्ष एवं स्वाथ्यमन्त्री हृदयश त्रिपाठी, शिक्षा सचिव गोपीनाथ मैनाली, स्वास्थ्य सचिव लक्ष्मण अर्याल, राष्ट्रिय योजना आयोगका सदस्य (शिक्षा) डा.उषा झा, आयोगका उपाध्यक्ष डा.श्रीकृष्ण गिरी र आयोगका सदस्य सचिव डिल्लीराम लुइँटेल रहेका छन् ।

यो समितिले सिफारिस गरेकै आधारमा शुल्क निर्धारण हुनेछ । तर, आठ लाख रुपैयाँ बढाउने विषयमा भने कसैको सहमति छैन । प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यदलले पेश गरेको शुल्क घटाउन निर्देशन दिएका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री श्रेष्ठले पनि यस्तो अवस्थामा शुल्क बढाउन नहुने बताएका छन् ।



प्रतिक्रिया दिनुहोस !