२० बैशाख २०८१, बिहीबार

निर्देशक राजामौलीको ‘आरआरआर’ अक्टोबर १३मा



१२ माघ, काठमाडौं । निर्देशक एसएस राजामौलीको बहुप्रतिक्षित फिल्म ‘आरआरआर’को रिलिज मिति सार्वजनिक गरिएको छ । सन् २०१७ मा रिलिज फिल्म ‘बाहुबली २–द कन्क्लूजन’ को चार वर्षपछि राजामौली ‘आरआरआर’ लिएर आउँदैछ ।

तेलगुसँगै थुप्रै भाषामा रिलिज हुने फिल्म दसैँको अवसर पारेर रिलिज हुन लागेको हो । फिल्म ‘आरआरआर’ यही वर्षको अक्टोबर १३ (असोज २७) मा प्रदर्शन हुन लागेको छ । फिल्मको अन्तिम सेड्युल केही दिनअघि मात्र सकिएको थियो । आलिया भट्ट र अजय देवगनले केही दिनअघि मात्र फिल्मको सेड्युल सकाएका थिए ।

फिल्मकी अभिनेत्री आलिया भट्टले रिलिजको विषयमा सामाजिक सन्जालमार्फत जानकारी दिएकी हुन् ।‘आरआरआर फिल्मका लागि तयार हुनुहोस् । १३ अक्टोबर २०२१ मा थिएटरमा आउँदैछ,’ आलियाले ट्वीट गरेकी छन् ।

कोरोना भाइरसले सेड्युल यताउति पार्नु अघि यो फिल्म जनवरी ८ मा रिलिज हुने चर्चा थियो । तर, कोरोना भाइरसका कारण सुटिङ रोकिएपछि यो फिल्मको रिलिज पनि प्रभावित भएको हो ।

फिल्ममा जुनियर एनटीआर , रामचरणसँगै अजय देवगन र आलिया भट्टको मुख्य भूमिका रहेको छ । फिल्म ब्रिटिस समयको स्वतन्त्रता सेनानी सीताराम राजुको कथामा आधारित छ । राजामौलीको निर्देशन रहेको ‘बाहुबली’का दुई सिरिजले देशविदेश गरी हजार करोड कमाइ गरेको थियो । यो फिल्मको पनि बजेट ३ सय करोड हाराहारी रहेको छ ।

भारतीय फिल्ममा ‘बाहुबली’ र ‘बाहुबली २’ लाई सर्वाधिक सफल फिल्ममध्ये एक मानिन्छ । फिल्म ‘बाहुबली २’ले हिन्दी भर्सनमा मात्र ५ सय करोड अधिकको कारोबार गरेको थियो । फिल्मको हिन्दी भर्सनमा कुनै दक्षिण भारतीय फिल्मले पाएको यो अहिलेसम्मकै ठूलो सफलता हो ।



प्रतिक्रिया दिनुहोस !