१२ बैशाख २०८१, बुधबार

आज दाहाल-नेपाल समूहको धनगढीमा शक्ति प्रदर्शन



१७ माघ, काठमाडौं । आज नेकपाको दाहाल-नेपाल समूहले कैलालीको धनगढीमा प्रतिनिधि सभा विघटनविरुद्ध शक्ति प्रर्दशन गर्दैछ।

हजारौँ कार्यकर्ताको र्‍याली दिउँसो १ बजे खुलामञ्चमा सभामा परिणत हुने सो समूहका सुदूरपश्चिम ईञ्चार्ज भीम रावलले जानकारी दिए । सभालाई अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव कुमार नेपालसहितका शीर्ष नेताले सम्बोधन गर्नेछन् ।

यसअघि पुस २४ मा सोही स्थानमा ओली समूहले गरेको विशाल प्रदर्शनलाई धक्का दिने गरी कार्यकर्ता उतार्न रावलसहितका नेताहरू केही दिनदेखि जनसभाको तयारीमा कैलालीमा छन् । सभाअघि दिउँसो १ बजे चौराहा र क्याम्पस रोड दुवै तर्फबाट ‘विशाल र्‍याली’ निकालिने रावलले जानकारी दिएका छन् ।

प्रदर्शनलाई लक्षित गरि स्थानीय प्रशासनले सुरक्षा व्यवस्था कडा पारेको छ । जनसभाको पूर्वसन्ध्यामा शुक्रबार बेलुका मोटरसाइकल र्‍यालीसमेत निकालेको थियो।

पुस ५ मा प्रतिनिधिसभा विघटनपछि ओली र दाहाल- नेपाल समूहमा विभाजित नेकपामा समानन्तर बैठक र शक्ति प्रदर्शन गर्दै एकअर्काको चर्को आलोचना गरिरहेका छन् ।

दुबै पक्षले एकअर्काको चर्को आलोचनासहित समानन्तर शक्ति प्रदर्शनको होड चलाइरहेका छन् । पुस १४ मा काठमाडौँ उपत्यकासहित देशभर प्रदर्शन गरेर ओलीलाई दबाब दिएको दाहाल(नेपाल समूहले माघ ९ मा काठमाडौँमा नै प्रदर्शन गरेको थियो भने शुक्रबार विराटनगरमा पनि प्रदर्शन गर्‍यो ।

दाहाल-नेपाल पक्षलाई ओली समूहले नेता भीम रावलको प्रभाव रहेको भनिएको सुदूरपश्चिम प्रदेशमा विशाल जनसभा गर्दै पुस २४ मा ‘काउन्टर’ दिएको थियो । ओली समूहले माघ २१ मा काठमाडौंमा ‘विशाल प्रदर्शन’ गर्ने जनाइसकेको छ ।



प्रतिक्रिया दिनुहोस !