१२ बैशाख २०८१, बुधबार

संसद विघटनले संविधान संकटमा: सिटौला



काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्ण प्रसाद सिटौलाले संसद् विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमले संविधानमाथि खतरा आइपरेको टिप्पणी गरेका छन् ।
कांग्रेस क्षेत्र–६ ले शहीद दिवसका अवसरमा शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा पूर्वमहामन्त्री सिटौलाले संसद विघटनले संविधानमाथि संकट आएको बताए । ‘संवैधानिक व्यवस्था विपरीत ओलीले संसद विघटन गरेका छन्, यो असंवैधानिक हो, अलोकतान्त्रिक हो,’ उनले भने, ‘व्यवस्थामाथि नै प्रहार गर्ने र संविधान नै विघटन गर्ने खेल भइरहेको छ, संसद विघटनले संविधानमाथि नै खतरा ल्याउने काम गरेको छ ।’

संसद विघटनको विषय सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाईमा रहेको उल्लेख गर्दै नेता सिटौलाले अदालतले संविधानको रक्षा गर्ने विश्वास गरे । उनले अदालतले असंवैधानिक निणर्यलाई बदर गर्नुपर्नेमा जोड दिए ।

‘असंवैधानिक कदम चालेर प्रधानमन्त्री ओलीले ठूलो गल्ती गर्नुभएको छ,’ उनले भने, ‘अब आफ्नो गल्तीलाई सच्याउँदै ओलीले सार्वजनिक रुपमा जनताका बीचमा माफी माग्नुपर्दछ ।’

कार्यक्रममा कांग्रेस नेता गगन कुमार थापाले प्रधानमन्त्रीको कदम असंवैधानिक मात्र नभएर अनधिकृत भएको दावी गरे । उनले संसद विघटनले संविधानलाई नै विघटन गर्ने काम गरेको बताए । ‘यो प्रतिनिधि सभाको मात्रै होइन, संविधानकै विघटन हो,’ उनले थपे, ‘सरकारको गलत कदमविरुद्ध सबै एकजुट भएर अगाडि बढ्नुपर्दछ ।’ उनले न्यायका पक्षमा बोल्दा अबहेलनाको मुद्धा लाग्ने भए आफूलाई पनि मुद्धा लगाउन चूनौति दिए । अदालतले संविधान विपरीत सरकारले चालेको कदमलाई सच्याउने उनको विश्वास छ ।

अर्का नेता प्रदीप पौडेलले राष्ट्रपति र प्रधानमन्त्रीले आफूलाई संविधानभन्दा माथि बस्न चाहेको आरोप लगाए । उनले संविधानमाथि कोही नरहेको दावी गर्दै भने, ‘तर, अहिले हाम्रा राष्ट्रपति र प्रधानमन्त्री फेरि राजाजस्तै संविधानभन्दा माथि बस्न चाहिरहनुभएको छ । संसद विघटन यसैको परिणाम हो ।’ उनले प्रधानमन्त्री ओलीलाई गणतन्त्र विरोधी नेता भएको आरोप लगाए । कार्यक्रममा कांग्रेस नेता भीमसेन दास प्रधानले प्रतिनिधि सभा पुनस्र्थापनाका लागि सडक संघर्षलाई व्यापक बनाउनुपर्नेमा जोड दिए । उनले संविधानको रक्षाका लागि संसदको पुनस्र्थापनाको विकल्प नरहेको बताए ।



प्रतिक्रिया दिनुहोस !