२० बैशाख २०८१, बिहीबार

संसद विघटन विरुद्ध दायर रिट आज सर्वोच्चले सुनुवाई गर्ने



काठमाडौं । सर्वोच्च अदालतमा संसद विघटन बदरको माग गर्दै दायर रिटमा आज सर्वोच्चले सुनुवाई गर्ने भएको छ । आइतबार संसद विघटन गरिएपछि सोविरूद्द करिब १ दर्जन रिट सर्वोच्चमा दर्ता भएका थिए ।

नेकपाका सांसदले पनि संसद विघटन असंवैधानिक भन्दै मंगलबार रिट दर्ता गराएका हुन् । संसद विघटनविरूद्द दायर ती रिटहरूको आज एकल इजलासमा सुनुवाई हुने सर्वोच्च अदालत रिट महाशाखाका प्रमुख बाबुराम दाहालले जानकारी दिए ।

प्रतिनिधिसभामा नेकपाका प्रमुख सचेतक रहेका देव गुरुङ, सांसदहरु कृष्णभक्त पोख्रेल, शशी श्रेष्ठ र रामकुमारी झाँक्रीले रिट दर्ता गराएका हुन् ।

रिटमा प्रधानमन्त्री केपी ओली, राष्ट्रपति विद्यादेवी भण्डारी र सभामुख अग्निप्रसाद सापकोटालाई विपक्षी बनाइएको छ । उनीहरूको रिटमा राष्ट्रपतिले विघटन घोषणा गर्नु असंवेधानिक रहेकाले संसद विघटन नभएको बताइएको छ ।

प्रधानमन्त्रीले गरेको संसद विघटन र निर्वाचनको मिति सिफारिस र सो सिफारिसका आधारमा राष्ट्रपतिबाट गरेको संसद विघटनको निर्णयबाट ५ वर्षसम्म प्रतिनिधित्व गर्न पाउने हकबाट वञ्चित भएका भन्दै रिटमा दर्ता गरेका छन् । अतः मिति २०७७ पुस ५ मा प्रधानमन्त्रीले गरेको सिफारिस र सो सिफारिसका आधारमा राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटनसम्बन्धी सम्पूर्ण कामकारबाही र सो सिफारिसका आधारमा भए गरेका सम्पूर्ण कार्यहरु नेपालको संविधानको धारा १३३ को उपधारा २ र ३ बमोजिम उत्प्रेषणको आदेशबाट बदर गरी प्रतिनिधिसभाले गर्नुपर्ने कामहरु सम्पन्न गर्न आवश्यक र उपयुक्त आदेश जारी होस् भनि निवेदन र्दता गरेका छन् ।



प्रतिक्रिया दिनुहोस !