७ बैशाख २०८१, शुक्रबार

खल्तीमा राखेको आइफोन पड्केपछि एप्पलविरूद्ध मुद्दा



काठमाडौँ । सन् २०१९ मा आफ्नो खल्तीमा भएको आइफोन पड्केपछि एक अष्ट्रेलियन नागरिक अस्पतालमा भर्ना भएका थिए । मेलबोर्नका वैज्ञानिक रोबर्ट डी रोजको खल्तीमा आइफोन–एक्स पड्केको थियो। अब उनले एप्पलबाट त्यसको क्षतिपूर्ति खोजिरहेको एप्पल इन्साइडरले लेखेको छ।

‘अफिसमा काम गरिरहेको बेला मैले केही पड्किएको जस्तो आवाज सुनेको थिएँ,’ रोबर्टले भनेका छन्, ‘त्यही बेला मलाई दाहिने खुट्टामा दुखाइ महसुस भयो र त्यो मेरो खल्तीको आइफोनले गर्दा भएको थाहा पाएँ। मेरो लुगाको सानो भाग खरानी भएको थियो र छाला पनि निस्केको थियो।’ रोबर्टले सुरुमा यो कुरा सिधैँ एप्पललाई रिपोर्ट गरेको तर कम्पनीबाट कुुनै प्रतिक्रिया नपाएको बताएका छन्। त्यसैले उनी आफूले पाउनु पर्ने क्षतिपूर्तिको लागि एप्पललाई मुद्दा हाल्ने योजना बनाइरहेको छन्। उनले अन्य आइफोन प्रयोगकर्तालाई पनि यस्तो खतराबाट सचेत रहन सुझाएका छन्।

केही समय अगाडी एप्पलका अर्का प्रयोगकर्ताले पनि एप्पल घडी धेरै तात्तिएर नाडी जलेको बताएका थिए। यी दुवै रिपोर्ट अदालतमा दायर भइसकेको छ। एप्पल इन्साइडरका अनुसार एप्पलका एक प्रवक्ताले कम्पनीले ग्राहकको सुरक्षा अत्यन्त गम्भीरताको साथ लिने र पछिल्लो घटनाहरुको अनुसन्धान पनि भइरहेको बताएका छन्। हाल कयौँ स्मार्टफोनमा प्रयोग हुने लिथियम–आयन ब्याट्रीको कारण फोन धेरै तातो हुने, तथा लिकेज हुने जस्ता जोखिमहरु बढेको छ।फोनलाई खल्तीमा राख्दा क्षति बढ्ने सम्भावना वृद्धि हुने र अन्तमा पड्कने एप्पल इन्साइडरले उल्लेख गरेको छ।-एजेन्सी



प्रतिक्रिया दिनुहोस !