१२ बैशाख २०८१, बुधबार

बिबिसी मास्टर सेफ उपविजेता साहलाई बोर्डको सम्मान



काठमाडौँ । नेपाली खानालाई विश्वभर प्रवर्द्धन गरी देशको गौरव बढाएको भन्दै नेपाल पर्यटन बोर्डले ‘बीबीसी मास्टर सेफ प्रोफेसनल्स् युके’ को उपविजेता नेपाली सेफ सन्तोष साहलाई सम्मान गरेको छ । आज यहाँ आयोजित कार्यक्रममा साहलाई संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव एवं बोर्डका अध्यक्ष यादवप्रसाद कोइराला र पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) डा धनञ्जय रेग्मीले प्रमाणपत्र तथा खादा ओढाएर सम्मान गरे ।

नेपालको मौलिक खानाको परिकारलाई विश्वमाझ पस्केर नेपाल र नेपालीको शान र गरिमालाई पनि उँचो बनाउन भूमिका खेलेका छन् । भारत हुँदै बेलायतमा सेफ पेसामा जमेका साहले नेपाली खानालाई विश्वभर प्रवर्द्धन गर्ने योजना सुनाए ।

साहले पाँच भाषामा पुस्तक प्रकाशन गर्दै छन् । चर्चित पेन्गुइन पब्लिकेशनले साहको ‘कुक बुक’ पुस्तक प्रकाशन गर्नेछ । पुस्तक प्रकाशनको कामका लागि पनि आफू नेपाल आएको साहले बताए । खानाको विश्वव्यापी ‘रोडम्याप’ बनाएको र लण्डनबाटै यो अभियान शुरु गरिने उनले जानकारी दिए।

नेपाललाई कृषि प्रधान मुलुक भनेझैँ ‘टुरिज्म’ प्रधान मुलुकको रुपमा स्थापित गराउन आफ्नो क्षेत्रबाट सक्दो भूमिका खेल्ने साहले बताए। “हामीले आफ्नै खानालाई हेलचक्र्याइ गर्यौ, खानाको महत्व बुझ्न र बुझाउन सके नेपालको समृद्धिमा योगदान पुग्नेछ ।’’ नेपालको सिरहाको करजन्हामा जन्मिएका साह हाल बेलायतमा बस्छन् ।



प्रतिक्रिया दिनुहोस !