१६ चैत्र २०८०, शुक्रबार

हवाइ मार्ग खुलेसँगै मुक्तिनाथमा बढ्न थाले भारतीय पर्यटक



काठमाडौ।हिन्दू तथा बौद्ध धर्मावलम्बीहरुले पवित्र तीर्थको रुपमा लिने मुक्तिनाथ मन्दीरमा अहिले भारतीय पर्यटकको संख्या बृद्धि हुन थालेका छन् । हिमालपारीको जिल्ला मुस्ताङसँग जोडीने हवाइ मार्ग पोखरा–जोमसोममा मार्च ६ देखि शुरु भएको हवाइ उडान पछि हवाइ मार्गको प्रयोग गरी मुक्तीनाथ मन्दिर पुग्ने भारतीय धार्मिक पर्यटक बढ्न थालेका हुन् ।

गत चैतदेखि देश बन्दाबन्दीमा गए सँगै पूर्णरुपमा हवाइ यातायात बन्द भए पछि पर्यटन व्यवसाय संकटमा परेको थियो । मुक्तिनाथ मन्दिर नेपाली तथा भारतीय हिन्दूहरुले निकै श्रद्धाका साथ दर्शन गर्न पुग्ने स्थल हो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आफै मुक्तिनाथ मन्दिरमा पुगेर पूजा तथा दर्शन गरेपछि भारतीय क्षेत्रका धार्मिक पर्यटकहरु मुक्तीनाथमा बढ्न थालेका थिए ।

तर गतवर्ष कोरोनाका कारण भएको बन्दाबन्दीले गर्दा आन्तरिक बाह्य सबै पर्यटक आवागमन बन्द भए सँगै मुक्तिनाथ मन्दीर पनि सुनसान प्रायः भएको थियो ।‘हाल पोखरा जोमसोमको हवाइ रुटमा तारा एयर र समिट एयरले उडान भर्न थालेपछि भारतीय पर्यटकहरुको मुक्तिनाथ आगमन बढेको मुक्तिनाथका वडा अध्यक्ष वीरबहादुर गुरुङले बताए । अध्यक्ष गुरुङका अनुसार अहिले हवाइ तथा स्थल मार्ग हुँदै नेपाली तथा भारतीय गरी दैनिक पाँच सय भन्दा धेरै पर्यटकहरु मुक्तिनाथ दर्शनका लागि पुग्ने गरेका छन् ।

केही समय अगाडि स्थाल मार्गबाटै एक हजारभन्दा बढी पनि आएको भए पनि सरदर पाँच सय पर्यटक मुक्तिनाथ पुग्ने गरेको अध्यक्ष गुरुङको भनाइ छ ।आन्तरीक तथा बाह्य पर्यटकका लागि अहिले मुस्ताङमा प्रयाप्त होटल तथा रेष्टुरेन्टहरु रहेको होटल व्यवसायी संघ मुस्ताङका अध्यक्ष खगेन्द्र तुलाचनको भनाइ छ । तुलाचनका अनुसार मुस्ताङ सदरमुकाम जोमसोम एयरपोर्ट नजिक मात्रै सुविधा सम्पन्न ३५ वटा होटल रहेको होटल तथा रेष्टुरेन्ट छन् । त्यस्तै मुस्ताङ जिल्लाभर प्राय सबैजसो होटल तथा रेष्टुरेन्ट नै भए पनि व्यवसायिक तबरले करिब ३५० होटल तथा रेष्टुरेन्ट सञ्चालनमा छन् । (गोरखापत्र अनलाइन)



प्रतिक्रिया दिनुहोस !