१२ बैशाख २०८१, बुधबार

आफ्नै श्रीमती हत्‍या गर्ने श्रीमान् पक्राउ, हत्यापछि गहना लुटपाट गरेको खुलाशा



 

काठमाडौं । आफ्नै श्रीमतीको हत्‍या गर्ने श्रीमान् सन्तोष सापकोटा पक्राउ परेका छन् ।

पक्राउ पछि अनुसन्धान गर्दा सन्तोषले कोठामा श्रीमतीको हत्या गरेपछि तन्नामा पोको पारेर बोरामा शव फ्यालेको पाइएको प्रहरी वृत्त, कालिमाटीका डीएसपी अपिलराज बोहोराले बताए ।

उनका अनुसार उनी सुत्ने घरमै हत्यामा प्रयोग भएको हतौडा, रगताम्ये सिरक, मृतकको जुत्ता, लागूऔषध डाइजेपामको फुटेको सिसा लगायत बरामद भएको बताए ।

सामान्य विवादका क्रममा भएको झगडामा हतौडा प्रहार गरी श्रीमती सन्तोषी श्रेष्ठ सापकोटाको हत्या गरेपछि गहना लुटेको पाइएको हो ।

प्रहरी परिसर, काठमाडौंका प्रमुख अशोक सिंहले भने, ‘हत्यापछि मृतकको हातको बाला, दुईवटा मुन्द्रा, २३ हजार रुपैयाँ नगद र आइफोन समेत लिएर भागेको अवस्थामा उनलाई पक्राउ गरेका छौँ।’ सिंहका अनुसार सन्तोष लागूऔषध दुर्व्यसनी समेत हुन् ।

नियमित लागूऔषध सेवन गर्नुपर्ने व्यक्तिलाई पैसाको अभाव भएकाले उनले हत्यापछि श्रीमतीको गहना लुटेको हुन सक्ने भनिएको छ । प्रहरीसँग दिएको बयानका क्रममा उनले श्रीमती सन्तोषीले पनि आफूले चिथोरेको र जवाफमा हतौडाले हानेको भनेका छन् ।

सोमबार साँझ बल्खुस्थित सकुम्बासी बस्तीमा बोरामा हालेर फालिएको अवस्थामा महिलाको शव भेटिएको थियो ।

सन्तोषीको शवको त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा पोष्टमार्टम भइरहेको छ ।

 



प्रतिक्रिया दिनुहोस !