१३ बैशाख २०८१, बिहीबार

केन्द्रको विवाद प्रदेश सरकारमा: प्रदेश १ का तीन मन्त्रीले दिए राजीनामा



काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रको विवाद प्रदेश सरकारमा पनि देखिएको छ । आज प्रदेश १ सरकारका तीन मन्त्रीले राजीनामा दिएका छन् ।

सामाजिक विकास मन्त्री जीवन घिमिरेसहित सोही मन्त्रालयका राज्यमन्त्री जसमाया गजमेर र उद्योग पर्यटन, वन तथा वातावरण राज्यमन्त्री विजयकुमार विश्वासले राजीनामा दिएका छन् ।

पछिल्लो राजनीतिक घटनाक्रमले गर्दा वर्तमान प्रदेश सरकारको मन्त्री र राज्यमन्त्रीको जिम्मेवारीमा रही काम गर्न असमर्थ रहेको जनाउँदै तीन मन्त्रीले राजीनामा दिएको उल्लेख गरेका छन् ।

शनिबारमात्र मुख्यमन्त्री शेरधन राईले प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री ईन्द्रबहादुर आङ्बोलाई मन्त्री पदबाट हटाएका थिए । योसँगै प्रदेश नम्बर १ मा मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने तयारी गरिएको छ ।

आङ्बोको नेतृत्वमा मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने तयारी गरिएको हो । पदबाट हटाइएलगत्तै आङ्बोले अविश्वासको प्रस्ताव दर्ता गर्न मुख्यमन्त्रीले बाटो खोलिदिएको बताएका थिए । उनले अब आफ्नो अगुवाइमा अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी गरेको बताए ।

पूर्वमाओवादी नेता आङ्बो अहिले प्रचण्ड–नेपाल समूहमा छन् । मुख्यमन्त्री राई प्रधानमन्त्री ओली निकट मानिन्छन् ।

९३ सदस्यीय प्रदेश सभामा नेकपाका ६७ सांसद छन् । त्यसमध्ये प्रचण्ड(नेपाल पक्षका ४७ जना र ओली पक्षका २० जना मात्रै रहेको दावी गरिएको छ ।



प्रतिक्रिया दिनुहोस !