१६ चैत्र २०८०, शुक्रबार

सिन्धुलीको दुधौलीमा होमस्टे व्यवस्थापन तालिम सम्पन्न



११ बैशाख, सिन्धुली । दुधौली नगरपालिका वडा नंं.२ भलुवाहिमा होमस्टे व्यवस्थपान तालिम सम्पन्न भएको छ ।

सामाजिक विकास मन्त्रालय व्यवसायिक तथा सीप विकास तालिम केन्द्र बाग्मती प्रदेश हेटौडाको आयोजनामा इनरुवा इन्टरनेशनल पोलिटेक्निकल इन्स्च्यिूट प्रा.लि.को संयोजनमा भएको तालिम कार्यक्रममा दनुवार सामुदायिक होमस्टे र हत्पते मगर सामादायिक होमस्टेका ४० जना सहभागी हुनु भएको हो ।

दुधौलीमा नेपाल सरकारको आर्थिक सहयोगमा दुई वर्षदेखी नमूना कृषि सहकारी संस्था मार्फत चक्लाबन्दी खेती कार्यक्रम संचालनमा छ । चक्लाबन्दी खेती कार्यक्रम अन्तर्गत व्यवसायिक धान, गहुँ, मकै, माछा, हाँस तथा गाईपालन हुदै आएको छ ।
दनुवार र मगर जातिको बाहुल्यता रहेको स्थानमा होमस्टे संचालनको लागी सरकारले पाहुना घर निमार्णमा समेत सहयोग गरेको छ ।

करिव एक महिनाभित्रमा होमस्टेमा पाहुनालाई आतिथ्यता दिन सकिने हत्पते मगर सामुदायिक होमस्टेका अध्यक्ष हरि गाउँलेले बताउनु भयो । मगर र दनुवार सामुदायिक होमस्टेका संचालकलाई पाहुनाको स्वागत सत्कार, स्थानिय रैथाने परिकार निमार्ण, सरसफाई, बजारीकरण एवं होमस्टे संचालनका आधारभूत न्यूनतम मापदण्डको बारेमा तिलक ढकाल र भुमराज तिवारीले प्रशिक्षण दिनुभएको हो ।

पाँच दिन सम्म संचालन भएको तालिम कार्यक्रमबाट आफुहरुले स्थानिय संस्कृति, बसाई तथा खानपानबाट पाहुनालाई स्वागत सत्कार गरी खुसी बनाउने कला सिकेकोे पुजा मगरले बताउनु भयो । तालिम कार्यक्रम मार्फत स्थानियहरुलाई स्वरोजगार तथा आत्मनिर्भर बनाउन खोजेको आयोजक संस्थाका अध्यक्ष लक्ष्मी न्यौपानेले बताउनु भयो । कोरोना भाइरसको समयमा समेत सामाजिक दुरी तथा सुरक्षाका उपाय अपनाई आन्तरिक पर्यटकहरुलाई तत्काल सेवा थाल्ने तयारीमा रहेको दुधौली नगरपालिका वडा नं. २ का वडा अध्यक्ष रितेश राउतले बताउनु भयो ।

हत्पते मगर सामुदायिक होमस्टेमा पुग्नको लागि सिन्धुली जिल्लाको भिमानबाट पूर्व तर्फ मदन भण्डारी राजमार्ग अन्तर्गतको गाँगन बजार देखी ७ किलोमिटर कच्ची सडकबाट पुग्न सकिन्छ । हत्पतेमा सिन्धुली जिल्लाको प्रशिद्ध मधुगंगा महादेवको मन्दिर रहेको छ । हप्तपतेबाट उतरतर्फ महाभारत हिमश्रृङखला तथा दक्षिणतर्फबाट चुरे पर्वत लगायतका नेपालका १० जिल्ला र भारतीय सिमा बजार समेत अवलोकन गर्न सकिने हत्पते मगर सामुदायिक होमस्टे सांस्कृतिक समुहका संयोजक प्रेम आले मगरले बताउनु भयो । त्यसैगरी भलुवाईको दनुवार होमस्टेमा संस्कृति तथा जीवनशैली अवलोकन र अनुभूति गर्न सकिन्छ ।

 

 



प्रतिक्रिया दिनुहोस !