१३ बैशाख २०८१, बिहीबार

ओलीविरुद्ध आज देशैभर प्रचण्ड नेपाल समूहले प्रदर्शन गर्ने

भृकुटीमण्डपमा शीर्ष नेताले सम्बोधन गर्ने



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको संसद् विघटन गर्ने कदमको विरोध जनाउँदै आन्दोलनरत नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहले मंगलबार बिहान ११ बजेदेखि देशैभर प्रदर्शन, जुलुसको आयोजना गर्न लागेका हुन् ।

काठमाडौं उपत्यकामा विभिन्न ८ स्थान बानेश्वर, चाबहिल, मैतीदेवी, लैनचौर, बागबजार, घन्टाघर, टेकु, थापाथलीलगायतका ठाउँबाट जुलुस निस्कने अनेरास्ववियू प्रचण्ड–नेपाल समूहका संयोजक रञ्जित तामाङले जानकारी दिए । छ । युवा सङ्घले बागबजारबाट र अनेरास्ववियूले घन्टाघरबाट जुलुस निकाल्ने तयारी गरेको बताए ।

नेकपाले आजको प्रदर्शनमा काठमाडौंमा मात्रै एक लाख मानिस उतार्ने तयारी गरेको नेकपाका वरिष्ठ नेता झलनाथ खनालले यसअघि नै बताइसकेका छन् ।

आजको प्रदर्शनका लागि उपत्यकाका आसपासका जिल्लाहरूमा गरिने प्रदर्शन पनि काठमाडौं नै केन्द्रित गरिएको छ ।

पूर्व सिन्धुली, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक र भक्तपुरको जुलुस बानेश्वरबाट निस्कने छ । मकवानपुर, चितवन, धादिङको जुलुस टेकुमा मिसिने छ । नुवाकोट, रसुवाका लागि लैनचौर तय गरिएको छ । ललितपुरको जुलुस कुपनडोलबाट सुरु भएर भृकुटीमण्डप आइपुग्ने नेकपाले बताएको छ ।

भृकुटीमण्डपमा नेकपाका शीर्ष नेताहरू अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ लगायतले सम्बोधन गर्ने कार्यक्रम छ ।



प्रतिक्रिया दिनुहोस !