२१ बैशाख २०८१, शुक्रबार

नेपालमा पछिल्लो २४ घण्टामा ८ हजार ४१८ कोरोना संक्रमित थपिए

५३ को मृत्यु, ३ हजार ३७० जना संक्रमणमुक्त



काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ८ हजार ४१८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा ८ हजार २८७ र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा १३१ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिए ।

१७ हजार ३१५ जनाको पीसीआर र ९८९ को एन्टिजेन विधिबाट गरिएको परीक्षणमा सो संख्यामा संक्रमित भेटिएका हुन् ।
योसहित नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या ३ लाख ८५ हजार ८९० पुगेको छ ।

हिजोको तुलनामा आज पछिल्लो २४ घण्टामा संक्रमितको संख्यामा कमी आएको छ । हिजो २४ घण्टामा ९ हजार १९६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।

त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट थप ५३ जनाको मृत्यु भएको छ ।

योसँगै हालसम्म कोरोनाले ज्यान गुमाउनेको संख्या ३ हजार ६३२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

पछिल्लो २४ घण्टामा नेपालमा थप ३ हजार ३७० जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न अस्पतालमा उपचाररत उनीहरु संक्रमणमुक्त भई डिस्चार्ज भएका हुन् ।

योसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख ९८ हजार ७६५ पुगेको छ ।सक्रिय संक्रमित ८३ हजार बढी

नेपालमा सक्रिय संक्रमितको संख्या भने ८३ हजार ४ सय ९८ पुगेको छ । मन्त्रालयका अनुसार हाल देशभर ३ सय ९८ जना क्वारेन्टाइनमा छन् । हालसम्म पीसीआर परीक्षण २६ लाख १५ हजार ७ सय २० गरिएको छ ।

 



प्रतिक्रिया दिनुहोस !