१२ बैशाख २०८१, बुधबार

आज जौको सातु र सर्वत खाएर अक्षय तृतीया पर्व मनाइँदै



 

चितवन । अक्षय तृतीया पर्व आज जौँको सातु र सर्वत दानसहित मनाइँदै छ । कतै–कतै सातु र सर्वतसहित खुँदो तथा मह पनि खाने चलन पनि छ ।

प्रत्येक वर्ष वैशाख शुक्ल तृतीयाका दिन मनाइने अक्षय तृतीया पर्व सातु र सर्वत दान एवं सेवन गरी मनाइँदैछ ।

शास्त्रीय विधानअनुसार आज सबेरै उठी घर लिपपोत गर्नाका साथै स्नान गरेर पूजा सामान तयार पारी सङ्कल्प गरिन्छ । दियो, कलश र गणेशलाई पूजा गरी कलशमाथि अष्टदल लेखेको तामाको थाली राखी अष्टदलमा भगवान् विष्णुको सोह्र सामग्रीद्वारा पूजा गरिन्छ । पुरोहितलाई पनि पुजेर शुद्ध जल तामा वा माटाका भाँडामा राखी दालचिनी, ल्वाङ, सुकुमेल, अलैँची, मह, चिनी, सख्खर र मिश्री मिसाएर सर्वत बनाई घडा र जौँको सातु दान गर्ने वैदिक सनातनी परम्परा छ ।

पौराणिक कथाअनुसार विष्णुले परशुराम अवतार लिएकाले आजका दिनलाई परशुराम जयन्तीका रूपमा पनि मनाइन्छ । परशुरामलाई विष्णुका १० अवतारमध्ये एक मानिन्छ । परशुराम चिरञ्जीवी छन् । उनको आयुको क्षय भएन । त्यसैले यस तिथिलाई चिरञ्जीवी तिथि पनि भनिन्छ । चार युगमा सत्य र त्रेता प्रारम्भ यसै तृतीया तिथिबाट भएको हो । यसकारण यो तिथिलाई ‘युगादि तिथि’ पनि भनिन्छ । चार धाममध्ये एक बद्रीनाथ धामको ढोका यसै दिन अर्थात् अक्षय तृतीया तिथिकै दिन खोलिन्छ ।

वेदव्यासले समेत यसै दिन महाभारत रचना प्रारम्भ गरेका थिए । वैशाख शुक्ल तृतीयाका दिन मनाइने अक्षय तृतीयाका बेला सेवन गरिने यी खाद्यले गर्मीयाममा शरीर स्वस्थ राख्न र पानीको मात्रा बढाउन सहयोग पुग्ने पण्डित माधवप्रसाद शर्मा बताउँछन् । उनका अनुसार आजको दिन दाल, चिनी, ल्वाङ, सुकुमेल, अलैंची, मह, सख्खर र मिस्रीमध्ये एक लगाई सर्वतसँगै जौँको सातु दान गर्ने चलन छ ।

आजकै दिन बूढाबूढीलाई छाता, लौरो र कपडाको जुत्ता दान गरिन्छ । गच्छे भए गाई, जमिन, अन्न र सुन पनि दान दिइने चलन छ । किंबदन्ती अनुसार— महादेव र हिमालयपुत्री पार्वतीको विवाह भएको यस दिन विवाहका लागि लगन जुराइरहनु नपर्ने पण्डितहरु बताउँछन् । शास्त्रीय विधानअनुसार आज दियो, कलश र गणेशलाई पूजी कलशमाथि अष्टदल लेखेको तामाको थाली राखेर अष्टदलमा पूजा गरिन्छ । हिन्दू शास्त्रका अनुसार वर्षभरमा कयौं विशेष योग पर्छन् । तीमध्ये एउटा महायोगको नाम हो, अक्षय तृतीया ।

वर्षमा एक पटक पर्ने यस दिन गरिएका सत्कर्म अक्षय पुण्य प्राप्त हुने विश्वास गरिन्छ । वर्षको सबैभन्दा पवित्र दिन हुनाले अक्षय तृतीयालाई ‘विघ्नविनाशक’ पनि भनिन्छ ।



प्रतिक्रिया दिनुहोस !